मंसिर १६ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका – ४ लतमरी स्थित नेपाल- भारत सीमा नाकाबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन्।
मंगलबार साँझ करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकी तलासी गर्दा नोटहरू बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका ४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १,००० दरका ११८ थान नक्कली नेपाली नोट फेला परेको छ। बरामद नक्कली नोट कहाँबाट ल्याइएको हो र त्यसको नेटवर्कबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीले पक्राउ गरेकाहरू माथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई घटना सम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको छ जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

