१९ कार्तिक । प्रमुख जिल्ला अधिकारीको हैसियतबाट रौतहट जिल्लाको कार्यभार सम्हालेका दिनेशसागर भुसालको प्रमुख उद्देश्य नै शान्ति सुरक्षा, सुशासन र निर्वाचन लक्ष्ति कार्यक्रमलाई पूर्ण निष्ठाका साथ सम्पन्न गराउने रौतहट आएको बताए ।
जिल्ला प्रशासन कार्यालय गौरमा बुधवार भएको पत्रकारसंगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शान्ति र शालिनता पूर्वक प्रशासन सञ्चालन गर्ने तथा सुशासनका आधारमा काम गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
उनले सीमा क्षेत्रबाट चुहावट नियन्त्रण, राजस्व छली रोकथाम र प्रशासनिक पारदर्शिता कायम गर्न इमान्दारीपूर्वक प्रयास गर्ने पनि प्रतिवद्धता जनाए ।
भुसालका अनुसार सुशासन प्रवद्र्धनका लागि अधिकार जसको हो, त्यसले नै जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता छ । उनले भने, “स्थानीय तहदेखि केन्द्रसम्म कानुन अनुसार अधिकार प्रयोग हुनुपर्छ, तब मात्र सुशासन सम्भव हुन्छ ।”
प्रेस स्वतन्त्रताको महत्वलाई जोड दिँदै सीडीओ भुसालले विचार अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे । “प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु राज्यको दायित्व हो । तथ्यमा आधारित पत्रकारिता समाज रुपान्तरणको मूल शक्ति हो,” उनले भने ।
चुरे संकट समाधानका सवालमा उनले एकीकृत जिम्मेवारीको अभाव र नियन्त्रण संयन्त्र (कन्ट्रोल मेकानिजम) नहुँदा समस्या गहिरिँदै गएको बताए । “राजस्व छलीको कहालीलाग्दो अवस्था देखिन्छ, त्यसलाई नियन्त्रण गर्न सबै निकायको समन्वय आवश्यक छ,” उनले जोड दिए ।
भुसालले आगामी दिनमा कानुनी व्यवस्थाअनुसार, पारदर्शिता र जवाफदेहिता मार्फत प्रशासनिक सुधारमा जोड दिइने बताए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी सहितका सुरक्षा अधिकारी तथा नेपाल पत्रकार महासंध रौतहटका अध्यक्ष सन्जय कुमार कार्की सहितका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

