अविरल वर्षाले रौतहट सदरमुकाम गौर जलमग्न, सरकारी कार्यालयसमेत डुबानमा

पछिल्लाे समाचार

रौतहट — लगातारको वर्षाका कारण रौतहट सदरमुकाम गौर जलमग्न बनेको छ। पूर्वतर्फ बागमती नदी, पश्चिमतर्फ लालबकैया नदी र दक्षिणतर्फको भारतीय बाँधका कारण गौर हरेक वर्षजस्तै यस वर्ष पनि गम्भीर डुबानमा परेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्ला अदालत, मालपोत कार्यालय, गौर भन्सार, कर कार्यालय र जिल्ला प्रशासन कार्यालय जाने मुख्य सडकसहितका क्षेत्रहरूमा पानी भरिएको छ। सरकारी कार्यालय परिसर र आवासीय बस्तीहरूमा घुँडासम्म पानी पुगेको बताइएको छ।

निरन्तर वर्षा भइरहेकाले गौरका स्थानीयवासी त्रसित बनेका छन्। विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा रहेका छन्।

सुरक्षा निकायले जोखिमयुक्त बस्तीहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ भने प्रशासनले सम्भावित उद्धारका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

spot_img

लोकप्रिय