रौतहट।। २३ भदौं । रौतहटको गरुडा नगरपालिकाको बसबिट्टि जिगडिया गाउँमा एक ५५ बर्षीया महिला माथि बोक्सीको आरोप लगाउदै निर्घात कुटपिटि गरेर मानव मलमूत्र खुवाइएको घटना सार्वजनिक भएका छन् ।
गरुडा नगरपालिका–८ बसविट्टि जिगडिया गाउँ निवासी रामएकवाल साह बनियाको ५५ बर्षीया श्रीमती सुशिला देवी बनियाइनले जादुटुना गरेर छिमेकी महिलालाई मारिदिएको आरोपमा उक्त परिवारका अभिभावकहरुले बोक्सी भन्दै निर्घात कुटपिट गर्नुका साथै मानव मलमूत्र खुवाइदिएका हुन् ।
आईतवार विहान छिमेकी दिनेश साहको ३७ बर्षीया श्रीमती संगिता देवीको मृत्यु भएपछि उनका परिवारजनले सुशिलाले टुनामुना गरेर श्रीमती संगितालाई मारेको आरोप लगाउदै दिनेश सहित उनका २२ बर्षीय छोरा गोलु साह कानु र सोही स्थानका ३५ बर्षीय विक्रम साह कानु सहितका व्यक्तिहरु मिलेर निर्घात कुटपिटको साथै कपाल मुंडन गर मानव मलमुज्ञ खुवाइएको पिडित परिवारहरुले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको बताइएको छ ।
निर्घात कुटपिट एवं मानव मलमूत्र खुवाएपछि असहज बनेकी महिला सुशिलालाई स्थानीय अनामिका अस्पतालमा उपचार गरिएको जानकारी दिदै इप्रका गरुडाका डिएसपी राजन कार्कीले महिलालाई कुटपिट गरी मानविय यात्रना दिनेहरुको खोजी कार्य जारी रहेको बताए ।
आज दिउँसो बोक्सीको आरोपमा बसबिट्टि जिङ्गडियाका दिनेश साह कानु, उनको छोरा गोलु र विक्रम साह मिलेर सुशिला देवीलाई कुटपिट गर्नुका साथै उनको कपाल समेत काटिदिएको र दिशा पनि खुवाएको इलाका प्रहारी कार्यालय गरुडाले जनाएको छ ।
घटना कसरी भयो
बोक्सीको आरोपमा सुशिला देवीलाई कुटपिट गरिएको र कपाल समेत काटेर मानव मलमूत्र खुवाएको जानकार प्राप्त हुनासाथ हिजो दिउँसो ३ बजेको समयमा प्रहरी चौकी विर्ताका प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र ढकालको कमाण्डमा प्रहरी टोली पुगेर महिलाको उद्धार गरेका थिए ।
प्रहरी टोली घटनास्थल पुग्ने वित्तिकै कुटपिट गर्नेहरु तिनै जना फरार भएका थिए । पिडित परिवारद्वारा दोषीलाई पक्राउ गरी कारवाही गर्न भन्दै सात जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएको डिएसपी कार्कीले बताए ।
बोक्सीको आरोपमा महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरुमाथी मुद्दा चलाउने प्रहरीको तयारी सुरु गरिएको तथा त्यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको उनले बताए ।
स्मरणीय रहोस, दिनेश साह कानुको श्रीमती संगिता देवी एक्कासी बिरामी भएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरुले उनलाई उपचारका लागि गरुडा स्थित रोमा हस्पिटलमा लगे । तर रोमा हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विरगंजतर्फ लैजाने क्रममा संगिता देवीको हिजो विहान मृत्यु भएपछि छिमेकी सुशिलाले नै टुनामुना गरेर मारिदिएको गम्भीर आरोप लगाउदै उनी माथि यातना दिइएको थियो ।
आजको २१ सौं शताब्दीमा पनि बोक्सीको आरोपमा महिलालाई प्रताडित गरिनु साह्रै अमानविय कार्य भएको हुँदा उक्त कार्यमा संलग्न दोषिहरुलाई कानुनी कठघेरामा उभ्याई दण्डित गरिनु नितान्त अवश्यक रहेको देखिन्छ ।

