राैतहट,१८ गते साउन । रौतहट । उखु उत्पादक संघ रौतहटले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८१/८२ को बाँकी रहेको उखु अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । संघले प्रति क्विन्टल ७० रुपैयाँका दरले हुने करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान सरकारले अझै नदिएको भन्दै चिनी उद्योगबाट भुक्तानी भए पनि सरकारी अनुदान रोकिएको जनाएको छ ।
सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासंघको बैठक निर्णयअनुसार संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उखु अनुदान र आगामी मूल्य निर्धारणका लागि त्रिपक्षीय वार्ता गराउन पनि आग्रह गरेको छ ।
किसानहरुले विगतमा आन्दोलनबाट अनुदान व्यवस्था लागू गराएको स्मरण गराउँदै संघले यदि माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको उखु उत्पादक संघ राैतहटका अध्यक्ष अशाेक प्रसादले जानकारी गराउनु भएको हाे ।
पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र, साउन २० मा चिनी उद्योग अगाडि प्रदर्शन, र भदौ ८ देखि माईतीघर मण्डलामा धर्ना कार्यक्रम घोषणा गरिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा नेता वृजकिशाेर यादव,रामभराेस यादव लगायतका व्यक्तिहरू सहभागी थिए ।

