रौतहट प्रहरी एक्सनमा ठूलो परिमाणको लागुऔषध सहित दुई जना पक्राउ

पछिल्लाे समाचार

१ श्रावण रौतहट ।  रौतहटको सदरमुकाम गौरबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका–१ स्थित शुभम होटेल अगाडि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मिपुर टोल निवासी २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन्। उनीहरू बीआर–०५–यू–५८६० नम्बरको ग्लामर मोटरसाइकलमा सवार थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो, वीरगंज र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी निरीक्षक रामकुमार महतोको नेतृत्वमा रहेको संयुक्त टोलीले बुधबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट निम्न परिमाणमा लागूऔषध बरामद भएको छ:- नाइट्राभेट–१० : १२० पत्ता (१ पत्तामा १५ ट्याब्लेट) = १,८०० ट्याब्लेट ;- नेट्जीकेयर–१० : ९० पत्ता (१० ट्याब्लेट प्रति पत्ता) = ९०० ट्याब्लेट :- नेट्जीकेयर–१० (सानो) : ३० पत्ता (१० ट्याब्लेट प्रति पत्ता) = ३०० ट्याब्लेट :- डायाजेपाम (Diazepam) : ३०० एम्पुल :- फेनार्गन (Phenergan) : ३०० एम्पुल :- बुप्रेनोर्फिन इन्जेक्सन : ३०० एम्पुल

साथै, लागुऔषधसहित उनीहरूले प्रयोग गरेको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी रायले जानकारी दिनुभयाे।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान गरिरहेको छ।

spot_img

लोकप्रिय