रौतहट, १६ असार । मधेश प्रदेशको सीमावर्ती क्षेत्र अन्तर्गत पर्ने रौतहट जिल्लाको ऐतिहासिक तथा धार्मिक नगर ईशनाथ नगरपालिकामा पछिल्ला दिनमा चौतर्फी विकासले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०८१ भदौ १७ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका नन्दकिशोर गुप्ताको प्रशासनिक नेतृत्वमा पालिकामा सुशासन, पारदर्शिता र समावेशी विकासको सशक्त अभ्यास देखिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाइ, खानेपानी र ऊर्जा क्षेत्रमा एकसाथ भएका योजनाबद्ध र प्रभावकारी कामले गर्दा ईशनाथ नगरपालिका अब “विकासको गतिशील मोडल” को रूपमा चिनिन थालेको छ।
गुप्ताले पदभार ग्रहण गरेसँगै पालिकामा परिवर्तनका लहरहरू देखापरेका छन्। विद्यालय भवन निर्माणदेखि छात्रछात्राका लागि शौचालय मर्मत, दिवा खाजा कार्यक्रम र पठनपाठनको पहुँच अभिवृद्धि लगायतका क्रियाकलापले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आएको छ। स्वास्थ्य सेवा सुधार, कृषि यान्त्रीकरण, स्वच्छ पानीका लागि ८० वटा हैण्डपाइप जडान, तथा ढल निकासको योजनावद्ध व्यवस्थापनले सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष प्रभाव परेको स्थानीयवासी बताउँछन्।
यस आर्थिक वर्षमा पालिकाले अगाडि सारेका योजनाहरू उल्लेखनीय छन् । २.५ किलोमिटर सडक ढलान, ४ किलोमिटर ग्रेभल बाटो निर्माण, २ किलोमिटर नाला निर्माण, १० वटा मठमन्दिर निर्माण, ६ वटा छठघाट सौन्दर्यकरण, १ सामुदायिक भवन, ४० वटा कृषकका लागि बोरिङ, १०५ थान कृषि पोल वितरण, ८० वटा हैण्डपाइप जडान र ७ वटा स्थानमा ट्रान्सफरमर जडानजस्ता कार्यहरू सम्पन्न भइसकेका वा सम्पन्न हुने प्रक्रियामा छन्।
ईशनाथ नगरपालिका बिहारको चैनपुर र घोडासहन बजारसँग सिधा सीमा जोडिएको धार्मिक र सांस्कृतिक महत्त्वको भू–भाग हो। यहाँ रहेको ऐतिहासिक ईशनाथ गुठ्ठीमठ र प्राचीन महादेव मन्दिरको नामबाट नै पालिकाको नाम राखिएको हो। यस्तो सांस्कृतिक विरासतलाई संरक्षण गर्दै समृद्धिको बाटोमा लैजाने कार्य पनि पालिकाले जोडका साथ अघि बढाएको छ।
प्रमुख प्रशासकीय अधिकृत गुप्ताले समावेशी सहकार्यलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदै आएका छन्। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, कर्मचारी र समुदायसँग सहकार्य गर्दै पालिका सुशासनको आदर्श उदाहरण बनिरहेको छ। उनले भने, “ईशनाथ मेरो लागि कार्यालय मात्र होइन, जन्मथलो हो। यही माटोको सेवा गर्न पाउनु मेरो लागि गौरवको कुरा हो।”
यद्यपि, केही व्यक्तिगत स्वार्थमा आधारित आलोचनाहरू पनि आएका छन्, गुप्ताले ती विषयलाई विकास विरोधी मानसिकता भनी अस्वीकार गर्दै भने, “जनताको विश्वास र मेयर कौशल्या देवी सिन्हाको सक्रिय सहयोग नै मेरो ऊर्जा र प्रेरणाको स्रोत हो। उहाँ महिला भएर पनि नेतृत्व, कार्यशैली र निर्णय क्षमताले सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।”
पालिकाको ११ औं नगरसभा कुनै विवाद वा मनमुटावबिना भव्यताका साथ सम्पन्न हुनु, पालिकामा बढ्दो समन्वय, पारदर्शिता र कार्यदक्षताको प्रमाण हो। यसबाट गुप्ताको समन्वयकारी नेतृत्व शैली र सबैपक्षीय सहभागितालाई प्राथमिकता दिने सोच उजागर भएको छ।
निष्कर्षमा, ईशनाथ नगरपालिका आजको मितिमा समावेशी विकास, प्रशासनिक सुशासन, र नेतृत्वदायी पारदर्शिताको उदाहरण बन्दै गएको छ। नन्दकिशोर गुप्ताको सक्रियता र समर्पणले आगामी दिनमा ईशनाथ नगरपालिका मधेश प्रदेशकै नमुना पालिका बन्ने विश्वास नगरवासीले लिएका छन्।

