नेपाल प्रहरीका महानिरीक्षक कुवर द्वारा रौतहटको नवनिर्मित भवनको उद्घाटन सम्पन्न

पछिल्लाे समाचार

रौतहट । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् । सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।

समारोहका क्रममा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुद्घाटन गरिएको थियो । प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।
उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कुवरले प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए । उनले प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए ।

यस अवसरमा आईजीपी कुवरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो । नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

spot_img

लोकप्रिय