रौतहटमा पछिलो समय समाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने होडबाजी नै चलेको देखिएको छ।
केहीदिन अघि मात्रै जनमत पार्टीका रौतहट जिल्ला अध्यक्ष शेख जम्शैद आलमले फेसबुकमा हतियार प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै आज फेरि एकजना व्यक्तिले हतियार प्रदर्शन गरेको पाइएको छ।
गरुडा नगरपालिका -१ जयनगर घर भएका टिकटक कलाकार राजकुमार साहले सामाजिक सञ्जाल आफ्नै फेसबुकमा हतियार प्रदर्शन गरेको देखिएको छ।
उनले दु नल्ली बन्दुक हातमा लिएको तस्वीर फेसबुकमा अपलोड गरेका हुन् । उनले बोकेका बन्दुक इजाजत प्राप्त हो की होइन भन्ने कुरा अझै खुल्न सकेको छैन।
तर इजाजत प्राप्त हतियार भएपनि सामाजिक सञ्जालमा प्रदर्शन गर्नु कानुन विपरीतको काम हो ।
इजाजत प्राप्त हतियार भएपनि सामाजिक सञ्जालमा प्रदर्शन गर्न नपाइने रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका छन्।
राजकुमार साहले हतियार सहित राखेको तस्वीर बारे आफूले बुझिरहेको बताउँदै एसपी घिमिरेले इजाजत प्राप्त हतियार भएपनि उनलाई कानुनी कारवाही हुने उनले बताए।
पछिलो समय रौतहटमा इजाजत प्राप्त हतियार फेसबुकमा प्रदर्शन गर्ने क्रम बढेकोले यसलाई नियमन गर्न आफूहरु ठोस कदम चाल्ने तयारी थालेको रौतहटका प्रहरी प्रमुख घिमिरेले बताए।
केहीदिन अघि मात्रै जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला अध्यक्ष शेख जमशैदले यस्तै इजाजत प्राप्त हतियार फेसबुकमा प्रदर्शन गर्दै दुवै जना विवादमा परेका थिए।
हतियार सहितको फोटो फेसबुकमा किन राखेको भनी रौतहट प्रहरीले उनीहरूसँग स्पष्टीकरण सोधेको थियो।
तर कार्यवाही नगर्दा पछिलो समय रौतहटमा इजाजत प्राप्त हतियार फेसबुकमा प्रदर्शन गर्ने क्रम बढेको पाइएको छ।