१२ फागुन,। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खाली रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाए ।
‘महानगर मेरो पनि हो । संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर साब को हुनुहुन्छ, त्यो पछिको कुरा हो । काठमाडौं महानगर मेरो कार्यालय हो । त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो,’ उनले भने ।
सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खाली रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने उनले बताए ।
‘अब अहिले सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आउनुभएको छ । उहाँहरूको तीन दिनको ट्रेनिङ बाँकी छ । अब पाँच, ६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकविहीन भएका महानगर, उपमहानगरहरूमा पठाउँछौँ,’ मन्त्री गुप्ताले भने ।