गौर सेन्टर अस्पतालको लापरबाहीले १८ वर्षीय युवकको मृत्यु, न्यायको माग गर्दै परिवार आन्दोलित

पछिल्लाे समाचार

फागुन ११ रौतहटको गौर सेन्टर अस्पतालमा चरम लापरबाहीका कारण १८ वर्षीय युवकको मृत्यु भएको छ। मृतकका काका देवी अधिकारीका अनुसार डा. पंकज साह र डा. घनश्याम ठाकुरले सरकारी अस्पतालबाट जबरजस्ती उठाएर निजी अस्पताल गौर सेन्टरमा पुर्‍याई अनावश्यक अपरेसन गरी उनको हत्या गरेको आरोप लगाएका छन्।

मृतक लालु यादव, गौर नगरपालिका वडा नं. ३ निवासी धर्मेन्द्र यादवका छोरा थिए, उनको आन्द्राको अपरेसन गर्ने क्रममा मृत्यु भएको बताइएको छ। परिवारका सदस्यहरूले अस्पतालका चिकित्सकहरूको लापरबाहीले ज्यान गएको भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।

गलत उपचार र बेवास्ताका कारण युवाको मृत्यु भएको भन्दै परिवारजनले दोषीहरूमाथि कारबाही नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्

मृतकका आफन्त देवी अधिकारीले दोषी चिकित्सकहरूलाई कारबाहीको माग गर्दै, यदि प्रशासनले उचित न्याय नदिएमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले भने, “कमिशनको लागि निर्दोष छोराको हत्या गर्नेहरूलाई कानूनी दायरामा ल्याइएन भने हामी अन्याय सहने छैनौं।”

यस घटनापछि स्थानीयबासी, समाजसेवी तथा अधिकारकर्मीहरू आक्रोशित बनेका छन्। उनीहरूले अस्पताल प्रशासन र लापरवाह चिकित्सकहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गर्दै प्रशासनसमक्ष दबाब सिर्जना गरिरहेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान अघि बढाइसकेको जनाएको छ। प्रहरी स्रोतका अनुसार अस्पताल प्रशासन तथा संलग्न चिकित्सकहरूसँग बयान लिइँदैछ। यदि लापरबाही प्रमाणित भए कानूनी कारबाही हुने प्रहरीको भनाइ छ।

पीडित परिवारले निष्पक्ष छानबिन गरी दोषीमाथि कठोर कारबाहीको माग गरेका छन्। स्थानीय तह तथा प्रदेश सरकारसमेत घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक कदम चाल्ने तयारीमा रहेको स्रोतले जनाइएको छ।

यस घटनाले नेपालमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको अनुगमन र नियमनमा ध्यान दिनुपर्ने विषयलाई फेरि सतहमा ल्याएको छ। पीडित पक्षले दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै सरकार, नागरिक समाज, मानवअधिकार आयोग तथा मिडियासँग सहयोगको अपिल गरेका छन्।

spot_img

लोकप्रिय