२०८१/१०/३० मो.मोजिबुल्लाह
रौतहटको ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह भइरहेको छ । सामान्य प्रशासन मन्त्रालयद्वारा भदौमा ईशनाथको प्रमुख प्रशासकीय अधिकृतका रुपमा गुप्ताले जिम्मेवारी लिएसँगै विकास निर्माणका कामदेखि सम्पूर्ण प्रशासनिक सेवा सुलभ तरिकाले प्रवाह हुन थालेको हो।
गुप्ता आउनु अघि ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै विषयमा पटकपटक विवाद हुँदैआएको थियो । २०८० फागुन १७ गते अधिकृत हाजिर भएपछि निर्धारित समयमा शिक्षक कर्मचारीको तलब, विकास निर्माणको अनुगमन भुक्तानी भईरहेको ईशनाथकी मेयर कौशल्या देवीले बताइन् । मेयरका अनुसार हाल नगर भित्रका शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवालगायत वडाबाट सेवाग्राहीको काम छिटोछरितो भइरहेको छ । त्यति मात्र नभई प्रमुख प्रशासकीय अधिकृत गुप्ताको सक्रियताले तोकिएको समय भित्रै ईशनाथको हिउँदे अधिवेशन भएको मेयर कौशल्या देवीले जानकारी दिइन् ।
रौतहटका १८ स्थानीय निकायमध्ये अधिकांशमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विभिन्न कारणले पटकपटक विवाद हुँदै आएको छ । तर अधिकृत गुप्ताले जनप्रतिनिधि देखि नगरबासीको चाहना अनुसार काम गरेकाले ईशनाथको सम्पूर्ण गतिविधिमा सुधार आएको स्थानीयहरूले बताए । नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयको शिक्षाको अवस्था र स्वास्थ्य संस्थाबाट प्राप्त भइरहेको उपचार सेवा अझै प्रभावकारी बनाउनु पर्ने स्थानीयहरूले सुझाव दिए ।