रौतहट, २९ माघ । रौतहटको चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने चाँदी पुल नजिक मंगलवार विहान स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ चाँदी पुल नजिक आज विहान ८.२० बजेको समयमा चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिसाबाट आउदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा स्कारपिओका चालक सहित पाँच जना घाइते भएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका अनुसार घाइते पाँच जना मध्ये बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ ।
रौतहट मौलापुर नपा ३ का २० बर्षिय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ बर्षिय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षिय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा घाइते भएको बताइएको छ ।
घाइतेहरुको टाउको, निधार, हात, आँखा लगायतका शरिरको विभिन्न भागमा चोट लाग्दा उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भईरहदा अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । गम्भीर घाइते कुशवाहको पनि सोही अस्पतालमा उपचार भईरहेको र उनको अवस्था स्थिर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरको श्रोतबाट बुझिएका छन् ।
ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का २८ बर्षिय फुरी तामाङलाई सहित ट्रक र स्कारपिओ इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
