२०८१/८/२ गते कटहरिया नगरपालिकाका योजनामार्फत कटहरियाको विकास गरिरहेका छौं : प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी
रौतहटको सुन्दर र व्यापार नगर , पर्यटकीय क्षेत्रका रूपमा रहेको कटहरिया नगरपालिकाले विकास निर्माणमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको छ । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी निजामती क्षेत्रमा अनुभवी र विकास योजना बनाउन दक्ष प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको सौहार्दपूर्ण र समन्वत्मक सम्बन्धका कारण पालिका विकास निर्माण कार्यमा अगाडि बढ्न सफल भइरहेको उहाँको बुझाइ छ । यसै सन्दर्भमा प्
जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?
हालको नगर नेतृत्व विकास निर्माण लगायत समग्र नगर विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित र युवासमेत हुनुहुन्छ र नगरका शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन लगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयता सहितको विकासका कार्यमा रणनीतिक योजना सहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य नगर विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।
विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ?
यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । अधिकांश कार्य उपभोक्ता समितिमार्फत भएका छन् । केही कार्य ४०÷६० को अवधारणा अनुसार समेत भएका छन् । जनतासँग प्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमा आधारित योजनाहरु नगरसभाबाट स्वीकृत भए बमोजिम कार्यान्वयनको चरणमा छन् ।
जनसहभागिता जुटाउन के–कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
आगामी आर्थिक वर्षदेखि जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनेछौं । रणनीतिक आवधिक योजना बनाउने उद्देश्यकासाथ कार्य प्रारम्भ भएको छ । यस कार्यमा प्रत्यक्ष जनसहभागिताद्वारा योजनाको छनोटको अवसर दिइनेछ ।
कटहरियामा बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?
गत आवमा हाम्रो बेरुजु रकम केही प्रतिशतभन्दा कम रहेको थियो । बेरुजु फछ्र्याैटका लागि हामी सक्रिय रहेका छौ । हालको कुल बेरुजु रकमलाई कम्तीमा पनि ५० प्रतिशतभन्दा बढी घटाउने लक्ष्यका साथ काम भइरहेको छ । सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीका आधारमा मात्र गर्ने गरिएको छ ।
काम गर्दै जाँदा आएका समस्या के छन् ?
अन्य नगरपालिकामा जस्तै साझा समस्या यस नगरपालिकामा पनि छन् । खास गरी, स्रोतसाधन भनेको प्रायः सीमित नै हुन्छ । मागका आधारमा आपूर्ति पक्ष कम हुनु स्वाभाविक नै हो । निर्वाचित जनप्रतिनिधि र जनताका असीमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौती छ । यस समस्याको समाधानका लागि आवधिक योजना तथा रणनीतिक योजनाबाट सम्बोधन गर्ने विचार गरिएको छ । जनसेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगलाई महत्व दिई कार्यक्रम अगाडि बढाएका छौं ।
प्रदेश र केन्द्रीय निकायसँग अन्तरसम्बन्ध कस्तो बनाउनुभएको छ ?
स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्ध तथा समन्वयको संयन्त्र कानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमको प्रयोग गरी अन्तर तहको अन्तरसम्वन्ध तथा समन्वयको कार्य भइरहेको छ ।
प्रदेश र केन्द्रीय तहबाट के–कस्तो सहयोग र समन्वय पाउनुभएको छ ?
आवश्यकता अनुसार सहयोग र समन्वयको कार्य भइरहेको छ ।
कटहरिया नगरपालिकामा भोग्नुपरेका मुख्य समस्या के छन् ?
उल्लेख्य समस्या खासै छैनन् । तापनि कार्यालय भवन पुरानो हुनु र अपर्याप्त कोठाका कारण कर्मचारी तथा शाखा–उपशाखालाई उचित स्थान दिन सकिएको छैन । आवश्यक संख्यामा कर्मचारी र नगर प्रहरीको पदपूर्ति हुन नसक्नु पनि संगठन विकासका केही मुख्य समस्या पहिचान गरिएको छ ।
समस्या समाधान गर्न के–कस्ता कार्य गरिरहनुभएको छ ?
समस्या समाधानका लागि संगठन तथा व्यवस्थापनको सर्भे गरिएको छ । प्रचलित कानुनका आधारमा समस्याको हल खोज्ने गरेका छौं ।
कटहरिया नगरपालिकालाई देशभर चिनिने बनाउन विशेष कुनै योजना बनाउनुभएको छ ?
कटहरिया नगरपालिकालाई नमुनाका रूपमा विकास गर्न नगर नेतृत्व क्रियाशील रहेको छ । यसका लागि आवधिक रणनीतिक योजनाका आधारमा वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको छ । शिक्षाको जग दह्रो बनाउन सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रयास थालिएको छ । स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाको स्रोतको कमी पूरा गर्न नगर विकास कोष अधिकारसम्पन्न वागमती एकीकृत समिति कटहरिया नगरपालिका र विकास प्राधिकरण सडक डिभिजन कार्यालय लगायत प्रदेश सरकार तथा सघीय सरकारका विभिन्न मन्त्रालयहरुसँग विभिन्न शीर्षकमा बजेट विनियोजनका लागि समन्वयकारी भूमिका निर्वाह गरिएको छ । हाम्रो नगरपालिकालाई चिनाउने कटहरिया नगरपालिका एक व्यपार,मठ ,मन्दिर ,मदरसा लगायतका थुप्रै धार्मिकस्थल र पर्यटकीय स्थल छन् । यसै मार्फत पर्यटक भित्र्याउने योजना बनाएका छौं ।
पालिकाको स्रोत वृद्धि गर्न के–कस्ता पहल गरिरहनुभएको छ ?
करको दायरा बढाउनुका साथै व्यवसाय दर्ता, घरबहाल कर तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा आवश्यक कार्यहरु प्रारम्भ गरिएको छ ।
अन्त्यमा विशेष केही भन्नु छ कि ?
स्थानीय तहको विकासका लागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेको कार्य सफल हुन सक्दैन जोशीले बताएका छन ।