रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई निशुल्क एलपिजी ग्यास सलिण्डर र चुल्हो सेट वितरण गरिएको छ ।
आईतवारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग सम्वन्धित भएको पालिकाले जनाएको छ ।
परोहा नगरपालिका–२ मा रहेको विद्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी मेयर शेख वकिलले चुल्होसहितको सिलिन्डर वितरण कार्यको सुरुवात गरेका छन् ।
आठौँ नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ७ हजार ५०० वटा ग्यास चुल्हो सेट वितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्हो सहितको सिलिन्डर वितरण गर्न लागिएको मेयर वकिलले जानकारी दिए ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवार सम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर बताउँछन् ।
ग्यास सिलिन्डर वितरणबाट आर्थिक रुपमा विपन्न परिवार लाभान्वित हुने बिश्वास व्यक्त गर्दै उनले माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिलाको स्वास्थ्यमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने बताए ।
चौथो किस्ता दिन परोहा नगरपालिकावडा नम्बर २ जिगंडवाको स्थानीयलाई चुल्होसहितको ग्यास सिलिन्डर वितरण गरिएको छ ।
वडा नम्बर २ का ८०० घरपरिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए ।
अधिकृत आलमले यस अभियानबाट आगलागी न्यूनीकरण हुनुका साथै वनविनाश रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीयहरूले भने पालिकाको हामीहरूलाई ग्यास चुल्हो वितरण गर्न पाउँदा आफु हर्षित भएको बताइन् ।
पालिकाले दिएको ग्यास सिलिन्डिर लिदै स्थानीयले यहाँका स्थानीय वर्षौदेखि दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउने अवस्थाबाट मुक्ति पाएको वताए ।
मेयर वकिलको प्रयासले धुवाँ. धुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित भएको स्थानीय एक महिलाले बताइन् ।
ग्यास चुल्हो वतिरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीलगायत उपस्थित रहेका थिए ।