ईशनाथ नगरपालिकाले सिँचाइको विद्युत् महसुल व्यहोर्ने

पछिल्लाे समाचार

रौतहट ।। रौतहटको ईशनाथ नगरपालिकाले सिँचाइका लागि प्रयोग हुने विद्युतको महसुल स्थानीय तहले व्यहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको ईशनाथ नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल व्यहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख कौशलिया देवीको भनाइ छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाइ मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उनको भनाइ छ । नगरप्रमुख देवीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताए ।

“अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैले तिर्दै आएका थियौँ”, वडा नं २ का औरैयाका किसान नराण महतोले भने, “अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ ।”

वडा नं ८ का किसान भने नगरपालिकाको उक्त निर्णयले आफूहरुलाई सहज भएको बताइन् । “समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो”, उनले भनिन्, “सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुनेभएको छ ।”

ईशनाथ नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ७ को किसानहरूको भनाइ छ ।

ईशनाथ नगरकार्यपालिकाको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल ईशनाथ नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।

पुस मसान्तसम्मको महसुल किसान आफैँले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिए । “सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ”, उनले भने, “कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेकाे छ अधिकृत गुप्ताले बताएका छन ।”

spot_img

लोकप्रिय