रौतहट ।। गौर नगरक्षेत्रको पूर्ण प्रोफाईल तयार गर्न घरधुरी सर्वेक्षण गर्न टोली परिचालनको तयारीमा रहेको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले बताएका छन् । गौर नगरपालिकामा बसोबास गर्ने प्रत्येक नागरिकको बास्तविक तथ्याँक राख्न नगरपालिकाबाट टोली परिचालन गरेर रेकर्ड तयार पार्ने अभियान संचालन गरिने नगरप्रमुख साहले बताए ।
मंगलवार अपरान्ह गौर नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख साहले, पालिकाको ९ वटै वडामा बसोबास गर्ने नगरवासीहरुको वास्तविक अवस्था कस्तो रहेको छ ? साक्षर कतिको छ ? शौचालयको अवस्था के कस्तो छ ? विजुलबत्तीको अवस्था कस्तो छ ? रोजगारीको अवस्था ? स्वास्थ्यको अवस्था ? विद्यालय गए नगएको अवस्था ? खानेपानीको सुविधा र प्रकार, नक्सा पास वा अभिलेखिकरण भए नभएको, घरको प्रकार कस्तो छ ? चुल्होको प्रकार लगायतका नगर प्रोफाइल तयार पार्न टोली परिचालन गरिने जानकारी गराए ।
नगर प्रोफाइल तयार भएमा नगरपालिकाको लागि ठूलो सम्पत्ती हुने तथा नगरको वारेमा हरेक नागरिकलाई जान्ने एवं बुझ्ने अधिकार रहेको हुँदा अनलाईन मार्फत नगरवासी सजिलै हेर्न सकिने नगरप्रमुख साहले बताए ।
पत्रकार सम्मेलनमा मेयर साहले, गौर नगरपालिकाको पूर्ण विकासको निमित राजर्शी जनक विश्वविद्यालय अन्तर्गतबाट सम्बन्धनमा गौरमा पंडित मंगल उपाध्याय क्याम्पस यसै बर्ष देखि दुई वटा संकायबाट संचालन हुने समेत जानकारी दिए । पंडित मंगल उपाध्याय जुद्ध मावि गौरको संस्थापक नेपाली विषयको शिक्षक भएको नाताले उहाँको नामबाट क्याम्पस संचालन गरिनु उचित रहेको र यसमा विरोध गर्ने कुनै कारण नै नभएकोले क्याम्पस संचालनमा सवैको सहकार्य र सहयोगको आवश्यता रहेकोले सवैले सहयोगी भुमिका निर्वाह गरि दिन समेत उनले आग्रह गरे ।
उक्त पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ९ का वडाध्यक्ष अर्जुन सिंह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, जिन्सी प्रमुख जितेन्द्र भारती लगायतका कर्मचारीहरु तथा संचाकर्मीहरुको उपस्थिति रहेको थियो ।सभार संगम खबर