मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताएका छन् ।
मुस्लिम बालबालिका तथा युवाहरूको उत्थानको लागि इमामहरुको भुमिका अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको बताए । उनले मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरु गर्दै आएको बताए ।
उनले आयोगले गरेका कामहरु हरेक वर्ष वार्षिक प्रतिवेदनमा राष्ट्रपति कार्यालयलाई बुझाउने गरेको र राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री हुँदै सदमा पुगेपछि मुस्लिम समुदायकै सांसदहरूले त्यसबारेमा आफ्ना आवाज उठाउने र छलफल गर्ने नगरेकोप्रति दुःखेसो गरे । उनले सदनमा प्रतिवेदनमाथि छलफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । मुस्लिम क्षेत्रबाट जाने प्रतिनिधिहरूले प्रतिवेदनमाथि संसदमा आवाज निकालेर छलफल गराउन नसक्नु समुदायको लागि धोका हुने बताए ।
उनले भने ‘हामीले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्छ, मुस्लिम हरेक क्षेत्रमा आफ्नो भुमिका पाएपछि आफ्नो भुमिका निर्वाह गर्दछ, भन्दाभन्दा हामीले हरेक समयमा मिडियामार्फत हामीले आवाज उठाउँदै आएका छौँ । मुस्लिम क्षेत्रमा विभिन्न समयमा र क्षेत्रमा आफ्ना आवाज उठाउँदै गर्दा सिंगो मन्त्रीमण्डल मुस्लिम विहीन छ ।
केही दिनअघि एक जना राज्यमन्त्री भएपनि मुस्लिम समुदायबाट पाउनु हाम्रो लागि गर्वको कुरा हो । समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्छ । हामीले काम गरेको समुदायको हक अधिकारका लागि, विकास र उत्थानका लागि जति काम गरेका छौँ । त्यसको लेखाजोखा छ । हामीले राष्ट्रपति कार्यालयलाई हरेक वर्षको वार्षिक प्रतिवेदनमा हामीले गरेका काम मात्रै नभई हामीलाई परेका चुनौतीदेखि लिएर आगामी कार्यदिशादेखि लिएर हरेक कुरा उल्लेख गरेर वार्षिक प्रतिवेदन बुझाउँछौँ, त्यो सम्माननीय प्रधानमन्त्रीमार्फत सदनमा पठाउने चलन छ तर दुर्भाग्यवश सदनमा पुग्दा त्यो विषयमा छलफल नहुनु, हाम्रा मुस्लिम समुदायका प्रतिनिधिहरू सदनमा जोजो हुनुहुन्छ, उहाँहरुले समेत यो विषयमा आवाज नउठाउनु यो समुदायको लागि धोका हो । समय र ठाउँमा नबोल्दा त्यो समुदायको माग ओझेलमा पर्दछ ।’
उनले समय र ठाउँमा नबोल्दा समुदायको माग ओझेलमा पर्ने बताए ।