जेष्ठ २ रौतहट ।। रौतहटको इशनाथ नगरपालिका अन्तर्गत घिउराको विवाद अन्ततः साम्य भएको छ ।
गएको २ महिना अगाडि दुबै समुदायबीच द्वन्द्वले हिंसाको रुप लिएको थियो ।
उक्त घटनालाई समाधान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेल जनतालाई धन्यवाद दिन रौतहट आएका छन् ।
सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा सो स्थानका हिन्दु र मुस्लिम समुदायका स्थानीयहरु बीच झडप हुँदा स्थानीय प्रशासनले चार दिन कर्फ्यु लगाउँदा समेत परिस्थिति नियन्त्रणमा नआएपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल आफैं घटनास्थलमा उपस्थित भएका थिए । उनले दुवै समुदायबीच सहमति गराइ समस्या समाधान गराउन लिखित सहमति गराएका थिए ।
रौतहट प्रहरी प्रमुख भएर पहिले नै काम गरेको अनुभव र स्थानीयहरुसँगको मैत्री सम्बन्धका कारण डीआईजी पोखरेललाई दुबै समुदायबीच सहजीकरण गर्न सहज भएको थियो । सोही क्रममा उनले त्यहाँका दुबै समुदायका जनतालाई समस्या समाधान भएपछि धन्यवाद ज्ञापन गर्न आफैँ आउने वाचा गरेर फर्किएका थिए ।
सोही वाचा पूरा गर्न उनी रौतहट आएका हुन् । रौतहट आएका डीआईजी बुधबार दुबै समुदायमा पुगेर स्थानीयहरुसँग अन्तरक्रिया समेत गरेका थिए । सो क्रममा स्थानीयले सिमानाकामा रहेको यातायात आवत जावतमा कठिनाइ र मलखाद ल्याउन हुने झन्झटबारे गुनासो गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डीआईजी पोखरेलले रौतहटको जनता मात्र होइन, रौतहटको माटोले समेत आफुलाई माया गर्ने गरेको बताए । भारत र नेपालबीच रोटी, बेटीको सम्बन्ध रहेकोले घरायसी प्रयोजनको लागि ल्याइने वैधानिक सामग्रीमा दुःख नदिन मातहतका प्रहरी एकाइहरुलाई आफूले निर्देशन दिइसकेको तर व्यापारीक प्रयोजनका लागि तस्करी गरी ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने प्रष्ट पारे ।
उनीसँगै राष्ट्रिय अनुसन्धानका डीआईजी संजय यादव, सशस्त्र प्रहरी बलका डीआईजी दिपेन्द्र शाहसमेत रौतहट आएका थिए ।