जनकपुर ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए । सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए । यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस्,’ उनले भने ।
यस्तै सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुन मन्त्री समेत रहेका गुरुङले भने । मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए ।
‘सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ,’ उनले भने ।