रौतहट ।। पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षासँगै रौतहटको प्रायः सबै नदीको जलस्तर बढेको छ। लगातारको वर्षाले जिल्लाको बागमती, लालबकैया, झाँझ, चाँदी लगायतका सबै नदी तथा खोलाहरुमा बाढी आएको छ ।
जिल्लाका नदी तथा खोलाहरुमा लगातार पानीको सतह बढ्दै गएपछि विभिन्न गाउँ बस्ती डुवानमा पर्ने खतरा बढ्दै गएको छ । बागमती र लाबकैया नदीको बाढीले दर्जनौ गाउँ डुवानमा परिसकेको छ भने उक्त नदीहरुमा अझै पानीको सतह बढ्दै जादा थप गाउँहरुमा बाढीको पानी पसेर क्षति पुयाउन सक्ने जोखिम बढेको छ ।
जिल्लाको मध्यभागमा बने भांभखोला र पश्चिम भेगबाट बने लालबकैया नदीको बाढीको पानी सदरमुकाम गौरमा पस्न थालेको छ । बुधवार दिउँसोदेखि सदरमुकाम गौरको विभिन्न भाग डुवानमा परेको छ ।
अहिले गौर बजारमा कतै कतै मूल सडकमा १ फिटदेखि ३ फिटसम्म पानी जमेको छ । लालबकैया नदी र भाँझ नदीको बाढीको पानी क्रमशः बढ्दै गएकाले बिहीबार विहानसम्म गौर बजारमा पानी बढ्ने अनुमान गरिएको छ । त्यसैगरी, गौर चन्द्रपुर सडकखण्डको सवगढा स्थित लच्का माथि लालबकैया नदीको बाढीको पानी बग्न थालेपछि यातायात सेवा प्रभावित भएको छ ।
अविरल वर्षा र लालबकैयाँ
नदीमा आएको बाढीको पानी छिरेपछि गौर बजारभन्दा करीब २ किलोमिटर उत्तर सबगढा चोकस्थित लच्का (पुल) डुबानमा परेको छ ।
पश्चिमतर्फबाट वर्षा र बाढीको पानीको दबाब बढेको कारण चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत सबगढा नजिकको लच्का डुबानमा परेको हो। लच्का डुवानमा परेकोले आवतजावतमा समस्या भइरहेको छ ।
उक्त लचका लावकैयाँ नदीको बाढीको पानी तीव्र गतिमा बहाव सुरु गरेपछि साना सवारी साधनहरुको आउजाउ प्रभावित बनेको छ ।
बरहवा तालमा बाढीको पानी भरी भराउ छ, गौरको बरहवा छेउका केही बस्तीहरु पानीको घेरामा परेको छ । गौर भन्सारको पश्चिमतर्फ रहेको दलीत बस्तीमा बाढीको पानी पसेको छ । बाढीको पानी पसेपछि सो वस्तिको
जनजीवन प्रभावित भएको छ ।
त्यस्तै, लालबकैया नदीमा आएको बाढीको पानीले जिल्लाको दुई ठाउँमा सडक कटान गरेको छ । राजपुर नगरपालिका वाड नम्बर ९ बैरीया टोलमा लाल बकैया नदीको पानीले सडक कटान गरेपछि अहिले सो सडक भएर आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै, लालबकैया नदीकै बाढीले मौलापुर स्थित रहेको पुलको छेउमै पूर्वतर्फबाट सडक कटान गर्न सुरु गरेको छ ।
रौतहटको मध्य तथा दक्षिण भेग बाट वीरगञ्ज आउन जान दैनिक सयौं सवारी र हजारौ व्यक्तिले प्रयोग गर्ने देवाही मौलापुर कलैया वीरगञ्ज सडक नै लालबकैया नदीले कटान गर्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन् त्यसैगरी, लालबकैयाको बाढीको पानी पसेर ईशनाथ नगरपालिका-
१ बन्जरहा र औरया गाउँ डुबानमा परेको छ भने बागमती नदीको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वा लगायतका गाउँ डुवानमा परेको छ। जिल्लाका सबैजसो नदी तथा खोलाहरुमा आएको बाढीको पानीले जिल्लाका अधिकांश भू-भागहरु जलमग्न भएको देखिएको छ ।
बाढीको पानीले हजारौं विघा धानबाली पूर्णरुपमा डुवानमा परेपछि किसानहरु चिन्तित भएका छन् । दुई तीन दिन अझै बाढीको पानी यस्तै रहयो भने धानबाली पूर्णरुपमा सखाप हुने किसानहरुले चिन्ता व्यक्त गरेका छन् । अविरल वर्षा र बाढीको पानीले जिल्लाको १८ वटै स्थानीय तहका कच्ची बाटो हिलाम्मे भएको छ । जिल्लाको प्रायः सबै ग्रामीण भेगको बस्तीहरूमा पानी पसेको छ भने कयौं घरसमेत डुबानमा परेको छ ।