राजदुत ढकालसँग केन्द्रिय सदस्य इकबाल अहमदको शिष्टाचार भेटघाट

पछिल्लाे समाचार

काठमाडौं । कतारका लागि नेपालका राजदूत डा. नरेश ढकाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमद बीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार बिहान राजदुतावासको कार्यालयमा केन्द्रिय सदस्य इकबाल अहमद र महामहिम राजदुत डा. नरेश ढकाल बीच भेटघाट भएको हो ।

नेपाल पत्रकार महासंघका अल्पसंख्यक विभागका प्रमुख समेत रहेका इकबाल अहमद र राजदुत ढकालबीच कतारमा बसेका नेपालीहरुको समस्या, कार्यालय व्यवस्थापनमा कठिनाई, दुवै देशको कानुनको प्रभाव, सम्बन्धलाई थप बलियो बनाउन आवश्यक पहलकदमी लगायतका विभिन्न विषयको बारेमा छलफल भएको थियो । त्यस्तै भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

विभाग प्रमुख अहमदले कतारमा नेपालीले पाइरहेको दुख र सास्तीको बारेमा समेत जानकारी गराएको छ । खासगरी श्रम क्षेत्रमा नेपालीहरुले भोग्दै आएको समस्याको समाधानको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । नेपालीहरुको सुरक्षा र सहजताको निमित्त दूतावासले काम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । कतारमा प्रमुख अहमदलाई नेपाली कामदारहरुले आफ्ना समस्याहरुको बारेमा ध्यानाकर्षण गराउनु भएको बताउदै सम्पुर्ण किसिमका समस्याहरुको बारेमा राजदुतलाई ध्यानाकर्षण गराएको बताएका हुन् । अहमदले नेपालबाट उत्पन्न भएका समस्याको बारेमा सुधार गर्न पहल गर्ने बताउदै कतारमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न राजदुतलाई आग्रह गर्नुभएको बताइएको छ ।

केन्द्रिय सदस्य अहमदले कतारमा जेल जीवन बिताइरहेका नेपालीहरुको रिहाईका सम्बन्धमा समेत चासो व्यक्त गरेका थिए । कतारले नेसनल डे को अवसरमा जेलमा रहेका नेपालीहरुलाई रिहाई गर्न राजदुतावास कार्यालयलाई कतार सरकार समक्ष छलफल गर्न आग्रह गर्नुभएको थियोे । यसैगरी प्रमुख अहमदले नेपाल सरकार समक्ष भेटघाट गरी सुझाव सहितको प्रतिवेदन बुझाउने बताइएको छ ।

छलफल तथा भेटघाटको क्रममा कतारका लागि नेपालका राजदूत डा. नरेश ढकालले समस्यामा परेका नेपालीहरुको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपालीहरुको समस्या समाधानको निमित्त आफू सदैव तयार रहेको बताइएको छ । राजदुत ढकालले कुनैपनि नेपालीलाई समस्या परे आफुलाई जानकारी गराउन नेपालीहरुमा आग्रह गरेका छन् ।

महामहिम राजदुत ढकालले पत्रकार महासंघका केन्द्रिय सदस्य इकबाल अहमदलाई रोजगारीको क्रममा नेपालमा हुने लापरबाही, सास्ती र ठगी लगायतका विभिन्न समस्याको समाधान गर्न आग्रह गरेका छन् । उनले दुई देश अन्तरको कानुन र भाषाको कारण नेपालीहरु समस्यामा परेको दाबी गर्नुभयो । कतार सरकारको नियम अनुसार कम्पनीने कामदारलाई निशुल्क भिजा र हवाई टिकट उपलब्ध गराउने प्रावधान रहेको बताउनुभयो । उनले यस प्रकरणलाई केलाउदै नेपालमा मेन पावर र एजेन्टहरु खुलेआम रुपमा ठगि धन्धा चलाएको बताउदै श्रम मन्त्रालयलाई ध्यानाकर्षण गराउन केन्द्रिय सदस्य अहमदलाई आग्रह गरेका छन् ।

राजदुत ढकालले कार्यालयमा कर्मचारी अभाव रहेको भन्दै कर्मचारी माग गर्नुभएको बताइएको छ । आफुले कतार आएपछि कार्य सेवा सुधार आएको दाबी गर्नुभयो । उनले कामदारको हकमा इन्स्योरेन्स मार्फत सरकार सँग सिधा जोडिने कार्ययोजना अघि सारेको बताएका छन् ।

भेटघाटको क्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम मिया, पत्रकार तथा युवा समाजसेवी अजमल अन्सारी लगायत विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय