रौतहटको परोहा नगरपालिका भित्रका सबै नागरिकलाई सुरक्षित र मर्यादित रोजगारीका अवसर उपलब्ध गराउन, श्रमिकहरुको आधारभूत अधिकार सुनिश्चित गर्दै रोजगारी संग अन्तरसम्बन्धित रहेका गरिबी न्यूनीकरण, सीप तथा क्षमताको विकास, रोजगारीका अवसरमा विपन्न वर्गको पहुँच स्थापना गर्न, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसरहरूको जानकारी उपलब्ध गराउन, आन्तरिक रोजगारी सिर्जनाका लागि रोजगार प्रर्वद्धन गर्न, श्रम बजारको माग बमोजिमको रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्न, रोजगारीका सम्भावना तथा अवसरहरूको पहिचान गर्न, स्वरोजगारका अवसर सम्बन्धी जानकारी उपलब्ध गराउन, स्थानीय तहमा रहेका रोजगारदाताको प्रोफाइल निर्माण गर्न, रोजगार विनिमय सेवा, उद्यमशिलता विकास, सुरक्षित आप्रवासन, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणमुक्त बनाउन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई पुनः एकीकरण लगायतका विषयमा एकीकृत रुपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर परोहा नगरपालिकाले रोजगार रणनीतिक योजना, २०८० जारी गरेको छ ।
देशमा बढदो गरेको बेरोजगारी समस्यालाई समाधान गर्न तथा अन्तरिक रोजगारीका पर्याप्त अवसरहरुको कमीका कारण रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थालाई निरुत्साहित गर्न स्थानीय तहभित्रै आन्तरिक रोजगारीका पर्याप्त अवसरहरु सिर्जना गर्न रोजगारीका सम्भावित क्षेत्रहरुको पहिचान गरि आवश्यक्ता अनुसार सीपयुक्त, दक्ष, प्रतिस्पर्धी र क्षमतावान जनशक्ति तयार गरि श्रम बजारमा आपूर्ति गर्ने अभिप्रायले यस परोहा नगरपालिकाको रोजगार रणनीतिक योजना तर्जुमा गरिएको छ । यस नगरपालिकाको आर्थिक तथा सामाजिक समृद्धिको लागि स्थानीय तहभित्रै आन्तरिक रोजगारीका थप अवसरहरुको सृजना गर्ने र सोही अनुसारको दक्ष, सीपयुक्त, क्षमतावान एवं प्रतिस्पर्धी जनशक्ति तयार गरि रोजगारीमा प्रतिस्थापन गर्न यस रोजगार रणनीतिक योजनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा रहेको छ । नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका विभिन्न अवसर तथा सम्भावनाहरुको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नवीनतम उपाय एवं विधिहरुको विकास गर्न सहयोग पुग्नेछ । यस रणनीतिक योजनाको कार्यान्वयनले बेरोजगार व्यक्तिहरुलाई उत्पादनशील र मर्यादित रोजगारी प्राप्त गर्न आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ । सबै सरोकारवाला निकाय र यस नगरपालिकाका सबै नागरिकहरुबाट कार्यान्वयनका चरणहरुमा उचित सहयोग एवं सहकार्यको अपेक्षा राखिएको छ ।
